कोशीमा वर्षा झन् बढ्ने, केही ठाउँमा अति भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेशमा मनसुन थप सक्रिय हुने संकेत देखिएसँगै वर्षाको मात्रा बढ्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्छ ।

बंगालको खाडीको पश्चिम–मध्य क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यससँगै देशभर मनसुनी वायुको प्रभाव रहने र पश्चिमी वायुको आंशिक प्रभावसमेत देखिने भएकाले मौसम सक्रिय हुने पूर्वानुमान गरिएको हो ।आज (बुधबार) दिउँसो देशका अधिकांश भू–भागमा मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि केही स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

 

तराई क्षेत्रमा समेत वर्षाको सम्भावना छ । कोशीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका केही भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने तथा सुदूरपश्चिमको तराई क्षेत्रमा थोरै स्थानमा वर्षा हुने पूर्वानुमान छ ।

 

कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ । राति पनि कोशी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

 

रातको समयमा कोशी प्रदेशमा वर्षाको मात्रा अझ बढ्न सक्ने पूर्वानुमान छ । कोशीका केही स्थानमा भारी वर्षा हुने तथा पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने देखिएको छ ।

 

भारी वर्षाका कारण कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा आसपासका तराई क्षेत्रमा गेग्रानसहितको बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ । विशेषगरी खोला तथा नदी आसपास, भिरालो जमिन र पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

वर्षाको असर दैनिक जनजीवनमा समेत पर्न सक्ने जनाइएको छ । कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सम्भावित विपद्का घटनामा उद्धार तथा राहत कार्यसमेत प्रभावित हुन सक्ने भएकाले मौसमको पछिल्लो अवस्था र पूर्वानुमानका बारेमा नियमित जानकारी लिनसमेत आग्रह गरिएको छ ।