भेनेजुएला । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू तैनाथ गरेपछि भेनेजुएलाले विशाल सैन्य परिचालन सुरू गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारेबियन क्षेत्रमा डुंगामार्फत लागुपदार्थ ओसार पसार भइरहेको बताएर त्यहाँ चल्ने डुंगाहरुमाथि हवाई हमला गरिरहेको छ।
पछिल्लो समय युद्धपोत र शक्तिशाली पनडुब्बी तैनाथ गरेपछि भेनेजुएलाले पनि विशाल सैन्य परिचालन गरी आफ्नो शक्ति प्रदर्शन गरेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।
भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले भूमिगत, हवाई, नौसैनिक लगायत आरक्षित फौजसहितको संयुक्त अभ्यास जारी रहेको र यो आगामी बुधबारसम्म चल्ने बताएका छन्।
उनले यसलाई अमेरिकी साम्राज्यवादी खतराको जबाफका रूपमा व्याख्या गरेका छन्। यो सैन्य परिचालन राष्ट्रपति निकोलास मादुरोको निर्देशनमा गरिएको हो।
अभ्यासमा नियमित सैनिक फौजसँगै बोलीभेरियन मिलिसिया पनि सहभागी हुने बताइएको छ। पूर्वराष्ट्रपति ह्युगो चाभेजले स्थापना गरेको यो बल नागरिक स्वयंसेवकहरू रहन्छन्।
रक्षा मन्त्री लोपेजका अनुसार अभ्यासको उद्देश्य देशको कमाण्ड, नियन्त्रण र सञ्चार प्रणाली सुदृढ गर्दै राष्ट्रिय सुरक्षालाई सशक्त बनाउनु हो। यो गतिविधि मादुरोको “इन्डिपेन्डेन्स प्लान २००” अन्तर्गत सञ्चालन भइरहेको बताइएको छ, जसमा सैन्य, प्रहरी र नागरिक स्वयंसेवकहरूलाई एकीकृत ढंगले परिचालन गरिन्छ।
अमेरिकाले ती क्षेत्रहरूमा लागूपदार्थ तस्करी नियन्त्रणका लागि सैन्य कारबाही गर्दै आएको बताएको छ।
गत महिना यूरोपमा रहेका अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस जेराल्ड आर. फोर्ड’लाई क्यारिबियन पठाउने आदेश दिएको थियो। यस समूहसँगै दुईवटा गाइडेड मिसाइल डेस्ट्रोयर, एउ कमाण्ड जहाज र करिब ९ वटा वायु स्क्वाड्रन रहेका छन्।
अमेरिकाको दक्षिणी कमाण्ड क्षेत्रभित्र पर्ने यस क्षेत्रमा अहिले करिब १५ हजार अमेरिकी सैनिक र नौसैनिक तैनाथ भएको अनुमान छ। तीमध्ये केही पहिले नै ‘इवो जिमा’ एम्फिबियस ग्रुप, मरीन युनिट, आक्रमण पनडुब्बी र मिसाइल क्रूजरसहित परिचालित थिए।
साथै, अमेरिकाले प्युर्टो रिकोलाई क्यारिबियनको प्रमुख सैन्य केन्द्र बनाउँदै त्यहाँ १० वटा एफ-३५ लडाकु विमान र कम्तीमा तीनवटा तीनवटा एमक्यू रिपर ड्रोन एमक्यू-९ रिपर ड्रोन पनि तैनाथ गरिएको छ।
मादुरो सरकारका अधिकारीहरूले यसलाई देशको सार्वभौमसत्तामाथिको प्रत्यक्ष चुनौती भन्दै निन्दा गरेका छन्।
ट्रम्पले झण्डै तीन हप्ताअघि भेनेजुएलामा कारबाही गर्न अमेरिकी गुप्तचर संस्था सिआइएलाई अधिकार दिएको खुलासा गरेका थिए।
खासमा भेनेजुएलाका लागुऔषध तस्करहरूलाई कारबाही गर्न सेना परिचालन गरेको भने पनि अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरो सत्ताच्युत भएको हेर्न चाहेको बताउँदै आएको छ।
ट्रम्पले अगस्ट महिनाको अन्त्यतिर दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काटिएको छ।
ट्रम्पले सो क्षेत्रमा सात वटा युद्धपोत र आणविक शक्तिबाट चल्ने एउटा पनडुब्बीमा चार हजार पाँच सयभन्दा बढी अमेरिकी सैनिक पठाएका थिए।
दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी–शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मादुरो आत्तिएका छन्। ट्रम्पले आफूलाई सत्ताबाट हटाउन शक्ति प्रयोग गर्न लागेको भन्ने डर मादुरोलाई परेको छ।
अमेरिकाले भेनेजुएलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने भएकाले पनि मादुरो सशंकित छन्।
अमेरिकाले अगस्टमै मादुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको थियो।
दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले फेब्रुअरीयता नौ वटा ल्याटिन अमेरिकी लागुऔषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन्। त्यसमध्ये दुइटा भेनेजुएलाका हुन्। तीमध्ये एउटा मादुरोको प्रत्यक्ष निर्देशनमा चल्ने अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
यस्तो परिस्थितिमा मादुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुनसक्ने विश्लेषण गरिएको छ। सेना र युद्धपोत देखेर मादुरो डरले देश छाडेर भागून् भन्ने मनसाय पनि उनको हुन सक्छ।
मादुरो देश छाडेर नभाग्ने देखेपछि अहिले उनलाई डर देखाउन भेनेजुएलाभित्रै हमला गर्न सिआइएलाई अनुमति दिएको ट्रम्पले खुलासा गरेका हुन सक्छन्।
अमेरिकाले विगतमा त्यस्तो कदम चालेकाले पनि मादुरोलाई सशंकित पार्नेछ।
सन् १९८९ मा, राष्ट्रपति जर्ज एच डब्लु बुसका पालामा पानामाका तत्कालीन सैनिक शासक जनरल मानुएल नोरिएगालाई सत्ताच्युत गर्न अमेरिकाले पानामामाथि आक्रमण गरेको थियो। अहिले मादुरोलाई जस्तै नोरिएगालाई पनि अमेरिकामा लागुपदार्थ पैठारी र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको थियो।
त्यस्तै, तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको पालामा क्युबाका फिडेल क्यास्ट्रोको सत्ता पल्टाउन सन् १९६१ मा सिआइएले क्यास्ट्रोलाई सत्ताच्युत गर्न बे अफ पिग्समा आक्रमण गरेको थियो।
केनेडीले अमेरिकाको संलग्नता नदेखियोस् भनेकाले त्यहाँ सिआइएले अमेरिकी सेना नपठाई प्रवासमा रहेका क्युबाका जनता परिचालन गरेको थियो। तर सो आक्रमण विफल भयो, क्यास्ट्रो झन् धेरै शक्तिशाली भए र त्यसपछि आधा शताब्दी क्युबामा शासन गरे।