विराटनगर

विराटनगर महानगरपालिका–८ मा वडा कार्यालयले ज्येष्ठ नागरिकको स्वास्थ्य स्थिति बुझ्न घर–घर पुग्ने विशेष अभियान सुरु गरेको छ। स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको टोलीले वडाभित्र रहेका ८० वर्षमाथिका नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण, पोषण सामग्री र आवश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउन थालेका छन्।अभियानको औपचारिक शुभारम्भ उपमेयर शिल्पा निराला कार्की ले अमरटोलकी १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट गरेकी हुन्। यस अवसरमा उनले स्वास्थ्य सेवा अभियानको महत्त्व र ज्येष्ठ नागरिकको सम्मान र हेरचाहमा स्थानीय तहको भूमिका विशेष उल्लेखनीय भएको बताइन।वडाध्यक्ष राम पोखरेल का अनुसार, अभियानले घरमै स्वास्थ्य सेवा पुर्‍याएर नागरिकलाई सहजता र सुरक्षा दिने लक्ष्य राखेको छ। पहिलो चरणमा वडाभित्र रहेका १३५ जना ८० वर्षमाथिका नागरिकहरूलाई लक्षित गरिएको छ। यस अभियान अन्तर्गत उनीहरूलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह र दुखाइ कम गर्ने औषधि, रक्तचाप र मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेबल लाइट लगायतका सामग्री वितरण गरिएको छ।अभियानमा वडा सदस्यहरू ताराकुमारी राय, पवित्रा विक, भुवन राजवंशी, मोहम्वत अब्बास, वडासचिव मनोज मल्लिक, स्वास्थ्य कर्मचारी तथा स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो। पवित्रा विकका अनुसार, आज पहिलो दिन मात्र १४ जना ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था बुझिएको छ र आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।वडा कार्यालयले यस अभियानलाई नियमित रुपमा सञ्चालन गर्दै ज्येष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गर्न योजना बनाएको छ। वडाध्यक्ष पोखरेलका अनुसार, आगामी आर्थिक वर्षदेखि उमेर समूहको आधारमा लक्षित संख्या क्रमिक रूपमा घटाउँदै सेवा विस्तार गरिनेछ। यस पहलले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने, उनीहरूको जीवनस्तर सुधार्ने र सामाजिक सुरक्षा सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।