


विराटनगर
विराटनगर–८ का युवा अभियन्ता राघव सहनीले निरन्तर सामाजिक कार्यमार्फत स्थानीयवासीको मन जित्दै आएका छन्। यसैक्रममा उनले शनिबार मधुमारास्थित सप्तकोशी बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी एक प्रशंसनीय कार्य गरेका छन्। उक्त शिविरबाट ७ सयभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्। सहनीले शिवा सहनी, दिपेश साह, मोहन मुखिया, पवन राय र रामराज पुरीको सहयोग तथा मेट्रो हस्पिटलको समन्वयमा शिविर सञ्चालन गरेका हुन्। शिविरमा जेनेरल फिजिसियन, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसासम्बन्धी रोग, नवजात शिशु तथा बालरोग, मुटु तथा नाक–कान–घाँटी (ईएनटी) सम्बन्धी रोगहरूको विशेषज्ञ चिकित्सकबाट परीक्षण गरिएको थियो। साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। शिविरको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए। उद्घाटन सत्रमा हस्पिटलका अध्यक्ष गोविन्द लुइँटेल, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. यज्ञ खरेल, औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल लगायतका वक्ताहरूले सहनीको पहललाई अत्यन्त प्रशंसनीय कार्यको रूपमा लिएका थिए। वक्ताहरूले धनी वर्गले महँगा अस्पतालमा सहजै उपचार पाउने भए पनि गरिब, विपन्न तथा सीमान्तकृत समुदायका मानिसहरू उपचार अभावमा घरमै बस्न बाध्य हुने अवस्था रहेको उल्लेख गरे। यस्ता स्वास्थ्य शिविरहरूले ती समुदायसम्म सेवा पुर्याएर सकारात्मक परिवर्तन ल्याउने विश्वास समेत व्यक्त गरिएको थियो।
