समाचार

काठमाडौं । मनसुन सक्रिय रहेकाले देशका विभिन्न भू–भागमा वर्षाको क्रम जारी रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याउँदै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अहिले देशभर मनसुनी […]

रामेछाप कारागारमा सामूहिक भाग्ने प्रयास, सेनाले गोली चलाउँदा २ कैदीबन्दीको मृत्यु नवराज श्रेष्ठ रामेछाप जिल्ला कारागारका कैदीबन्दीले बिहीबार बिहान सामूहिक रूपमा भाग्ने प्रयास गर्दा सेनाले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सेनाले चलाएको गोली लागेर १४ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये रामेछाप अस्पतालमा उपचारका क्रममा २ जनाको मृत्यु भएको र १२ जनाको उपचार भैरहेको उनले बताए। ‘कैदीबन्दीहरूले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजे। त्यसपछि सेनाले गोली चलायो,’ प्रजिअ थापाले भने। मृत्यु हुनेमा एक जना कर्तव्य ज्यान मुद्दा र अर्को एक जना जबर्जस्ती करणी तथा मानव बेचबिखन मुद्दामा सजाय भोगिरहेका थिए । रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित जिल्ला कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारलाई नियन्त्रणमा लिएपछि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ। हालै देशभरका विभिन्न कारागारमा कैदीबन्दी भाग्ने घटना बढिरहेका बेला रामेछाप तुलनात्मक रूपमा शान्त रहेको भनिएको थियो। तर बिहीबार बिहान यहाँका कैदीबन्दीले पनि सामूहिक भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीलाई गोली चलाउन बाध्य हुनुपरेको बताइएको छ ।